ललितपुरको बालकुमारीमा भएको घटनालाई लिएर आन्दोलन चर्केने सम्भावना देखिएपछि सरकारले सो घटनाको छानबिन गर्नका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने भएको छ । सोमबार बस्ने मन्त्री परिषद्को बैंठकले आयोग गठन गरिने भएकाे हाे । प्रधानमन्त्रीले पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्नेसम्बन्धी प्रस्ताव ल्याउन गृह मन्त्रालयलाई निर्देशनसमेत दिएका छन् ।
उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै पीडितका परिवारले शनिबारदेखि सुर्खेतमा प्रदर्शन नै थालिसकेकाले पनि प्रधानमन्त्री दाहाल आयोग गठन गर्नु पक्षमा उभिएका हुन् । घटनाका विषयमा चौतर्फी दबाब बढेपछि प्रधानमन्त्री दाहालले पूर्वन्यायाधीशको अध्यक्षतामा आयोग बनाउन तयार भएका हुन् । पीडितका आफन्तले शनिबार बेलुका प्रधानमन्त्री दाहाललाई भेटेर उच्चस्तरीय जाँचबुझ आयोग गठनसहित ८ बुँदे मागपत्र बुझाएका थिए ।
कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबाट बालकुमारीमा धरपकड हुँदा दुई युवाको ज्यान गएको थियो । सरकारले मृत्यु भएका दुई युवाका परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेको छ ।
सरकारले तत्कालै नेपाल प्रहरीका डीआईजी लालमणि आचार्यको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । तर घटनामा मृत्यु भएका युवाका आफन्त र सरोकारवालाले भने त्यस्तो छानबिन समिति स्वीकार गर्न तयार भएका छैनन् ।